टुडे समाचारदाता
आश्वीन ८, २०७५
विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको विषय थप जटिल बन्दै गएको छ । जातीय पहिचानका आधारमा नामकरण गर्ने कि भौगालिक पहिचानका आधारमा गर्ने भन्नेमा सत्तारुढ दलमै मदभेद देखिएपछि विषय थप पेचिलो बन्दै गएको हो ।
प्रदेशमा सरकार गठन भएको ६ महिनाभन्दा बढी भइसक्यो तर २ वटा प्रदेश बाहेकका अरु प्रदेशमा नत नामांकनमा सहमति जुटेको छ नत स्थायी राजधानीको विषय नै टुंगिएको छ । प्रदेश १ मा पनि यो विषय विवादमै छ ।
प्रदेश १ को स्थायी राजधानीका लागि विराटनगरसहित अहिले धनकुटा, धरान, इटहरी, गोठगाउँलगायतका ठाउँ छलफलमा छन् । त्यस्तै प्रदेशको नामको विषयमा सगरमाथा, कोशी, किरात, लिम्बुवान लगायतको चर्चा छ । तर प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की यो विषय असोज १५ भित्रै टुंग्याउने तयारीका साथ गृहकार्य गरेको बताउँछन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारले नाम र स्थायी राजधानीको विषय छिट्टै टुंग्याउनुपर्नेमा विलम्ब गरिरहेको भन्दै तत्काल यी विषय सदनमा प्रवेश गराउनुपर्ने बताउँछन् ।
तर यो विषय जति लम्बिँदै जान्छ, त्यति जटिल बन्ने पक्का छ । केहीले जातीय पहिचानका आधारमा नाम राख्नुपर्छ भन्दै दबाब दिइरहेका छन् । अर्कोतिर सत्तापक्षकै सांसदमा विभाजनको रेखा देखिएको छ । जसमा पूर्वएमालेका अधिकांश सांसद भौगोलिक पहिचानको पक्षमा उभिएका छन् भने पूर्व माओवादी निकट सांसद जातीय पहिचानको आधारमा हुनुपर्ने धारणा राखेका छन् ।
नाम र राजधानीको विषयमा जतिसुकै बहस भइरहे पनि सुविधाजनक बहुमत भएको नेकपाभित्र सहमति हुन सके यो विषय टुंगिन सक्छ । तर पनि यस्ता विषयमा लामो समयदेखि अलमल भइरहँदा अन्य काम प्रभावित भइरहेका छन् । तसर्थ यस विषयमा सरकारले बिलम्ब गर्नु उचित देखिँदैन ।